काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर सिटी एफसीसँग पराजित भएपछि एफसी चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले रेफ्रीको निर्णयप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार विराटनगरले चितवनलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
खेलपछि सहायक प्रशिक्षक कर्माचार्यले रेफ्रीको निर्णय निष्पक्ष नभएको बताए ।
'रेफ्रीको निर्णय निष्पक्ष भएन । पहिलो गोल हुँदा ह्याण्डबल भएको थियो । त्यो गोल खाएपछि खेलाडीको मनोबल कमजोर भयो,' उनले भने, 'हामी बिस्तारै खेलमा फर्किदै थियौ तर, रेफ्रीको निर्णयले नै हामीले खेल गुमाएका हौँ ।'
उनले रेफ्रीहरुको यस्ता निर्णयले नेपाली फुटबलमा राम्रो नहुने बताए ।
'विराटनगरको प्रशिक्षकले अस्ति रेफ्रीको बारेमा बोल्दा आज उनीहरुको लागि सहि निर्णय गरेको छ । यसरी नेपाली फुटबल कसरी चल्छ ? उनले भने ।
यस हारको चितवनको प्ले अफ खेल्ने सम्भावना कमजोर बनेको छ ।
चितवन ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।