काठमाडौं । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार दोस्रो जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।
विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले एक एक गोल गरे ।
जितपछि भारतीय प्रशिक्षक यान ल खुसी देखिए । उनले खेलाडीको प्रशंसा गरे ।
'खेलाडीले आज उत्कृष्ट खेले । उनीहरुले ९० मिनेट नै मज्जाले खेले,' उनले भने, 'धेरै अवसर सिर्जना गरेका थियौं । गोल धेरै हुनु पर्ने थियो । तर, २ गोलमा खुसी छु ।'
जितसँगै विराटनगर लिगको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।
यस्तै प्रशिक्षक यानले चितवनविरुद्धको खेलमा सुरज ज्यु ठकुरीले राम्रो खेलेको बताए ।
खेलको इमर्जिङ प्लेयर अफ दि म्याच बन्दै सुरजले १० हजार प्राप्त गरे ।