काठमाडौं । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा एफसी चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले एक एक गोल गरे ।
चितवनविरुद्ध विराटनगरले सुरुवातबाटै आक्रमण खेल पस्किएको थियो । तर, चितवनले पहिलो हाफमा विराटनगरलाई गोलरहित बराबरीमा रोकेको थियो ।
खेलको १६ औं मिनेटमा सुनिल बलको कर्नरमा विराटनगरका उल्रिच सीवीको हेडरले पोस्टको दिशा लिन सकेन ।
खेलको २० औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको सशक्त फ्रिकिक विराटनगरका गोलकिपर किशोर गिरिले पन्च गर्दै गोलको खतरा टारेका थिए ।
२३ औं मिनेटमा विराटनगरका स्ट्राइकर पेड्रो जाभियर मान्जीको क्रस बलमा पेनाल्टी क्षेत्रमा रहेका सुनिल बलको वान टच प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।
खेलको ३६ औं मिनेटमा विराटनगरका एडिलाजा सोमिडेको हेडरले पोस्टको दिशा लिन सकेन ।
५१ औं मिनेटमा विराटनगरका पेड्रोले गोलको सुनौलो अवसर गुमाए । नीर कुमार राईको क्रसमा अनमार्क रहेका पेड्रोको प्रहार फितलो रह्यो । उनले बललाई पूर्ण रुपमा टच गर्न सकेनन् ।
खेलको ५८ औं मिनेटमा विराटनगरका सन्तोष तामाङले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाऊ गरे ।
खेलको ७३ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए । सुनिल बलको फ्रिकिकमा डिबक्स भित्र रहेका पेड्रोले उत्कृष्ट गोल गरे ।
७४ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको प्रहार पोस्टको नजिकैबाट बाहिरिदा चितवन बराबरी गोल गर्न असफल भएको थियो ।
खेलको ८१ औं मिनेटमा चितवनका मनिस थापाले डिबक्स बाहिरबाट प्रहार गरेको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई २-० को जित दिलाए । फ्रिकिकमा आएको बल चितवनका डिफेन्डर रुड्डी जोनाथनले क्लियर गरेपछि प्राप्त बलमा सन्तोषले २० यार्डबाट उत्कृष्ट गोल गरे ।
खेलमा विराटनगरका रंजित धिमाल प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच विराटनगरका सुरज ज्यु ठकुरी चुनिए । उनले १० हजार प्राप्त गरे ।
जितसँगै विराटनगर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।
चितवन ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
यस हारको चितवनको प्ले अफ खेल्ने सम्भावना कमजोर बनेको छ ।