काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा अहिले एफसी चितवन र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा चितवन र विराटनगरले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले केहि गोलको अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेनन् ।
खेलको १६ औं मिनेटमा सुनिल बलको कर्नरमा विराटनगरका उल्रिच सीवीको हेडरले पोस्टको दिशा लिन सकेन ।
खेलको २० औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको सशक्त फ्रिकिक विराटनगरका गोलकिपर किशोर गिरिले पन्च गर्दै गोलको खतरा टारेका थिए ।
२३ औं मिनेटमा विराटनगरका स्ट्राइकर पेड्रो जाभियर मान्जीको क्रस बलमा पेनाल्टी क्षेत्रमा रहेका सुनिल बलको वान टच प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।
खेलको ३६ औं मिनेटमा विराटनगरका एडिलाजा सोमिडेको हेडरले पोस्टको दिशा लिन सकेन ।
आज चितवन पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
तीन खेल खेल्दा चितवनले जित निकाल्न सकेको छैन । चितवन ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
चितवनले अघिल्ला ३ खेलमा दुई बराबरी र एक हार व्यहोरेको छ ।
ललितपुर र बुटवलसँग बराबरी खेलेको चितवन धनगढीसँग पराजित भएको थियो ।
विराटनगर आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
विराटनगर ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आज चितवनलाई हराएर विराटनगर शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्न चाहन्छ ।
पहिलो खेलमा धनगढीलाई पराजित गरेको विराटनगर दोस्रो खेलमा पोखरासँग पराजित भएको थियो ।
यस्तै तेस्रो खेलमा विराटनगरले बुटवलसँग बराबरी खेलेको थियो ।