काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखराले ललितपुरसँग गोलरहित बराबरी खेलेको हो ।
ललितपुरसँग बराबरीमा रोकिएपछि पोखराका सहायक प्रशिक्षक राजेश शाहीले टिमको शीर्ष चारको अवसर अझै बाँकी रहेको बताए ।
'अझै दुई खेल बाँकी छ । राम्रो गर्ने कोशिस गर्छौ । शीर्ष चारका लागि अवसर अझै बाँकी छ,' उनले भने, 'हामी फिनिसिङमा चुकी रहेका छौँ । जस्तो फिनिसिङ हुनु पर्ने थियो त्यस्तो भएको छैन । आउने खेलमा राम्रो गर्ने छौँ ।'
सहायक प्रशिक्षक शाहीले दोस्रो हाफमा खेलाडी थाक्दा बराबरीमा रोकिनु परेको बताए ।
'पहिलो हाफ राम्रो खेल्यौं । तर, दोस्रो हाफमा इन्जुरीले गर्दा खेलाडी थाकेको जस्तो महसुस भयो,' उनले भने, 'ललितपुर राम्रो टिम हो । खेल राम्रो छ तर फिनिसिङमा ललितपुर पनि कमजोर छ ।'
ललितपुरका मुख्य प्रशिक्षक प्रदिप हुमागाईले खराब नतिजाको जिम्मेवारी आफुले लिने बताए ।
'आज खेल्न सकिएन । जुन प्रदर्शन गर्नु पर्ने थियो खेलाडीले त्यो गर्न सकेनन् । टिममा सबै एउटै स्तरको खेलाडी हो । तर, आज सबैले राम्रो खेल्न सकेनन्,' उनले भने, 'हाम्रो फिनिसिङमा चुकेकै हो । खेल राम्रो भएपनि स्कोर निस्किएको छैन। दबाब भन्दा पनि मन खिन्न भयो । हामीले जित्नु पर्ने थियो जित्न सकेनौं । यस्को जिम्मेवारी म नै लिन्छु ।'