काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को टिम बुटवल लुम्बिनी एफसीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले अग्रता बनाए पनि खेलमा सम्हालिन नसक्दा बराबरीमा रोकिनु परेको बताएका छन् ।
शनिबार भएको खेलमा विराटनगर एफसीसँग २-२ गोलको बराबरीमा रोकिएपछि प्रशिक्षक श्रेष्ठले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको बताएका हुन् ।
'खेल धेरै कठिन थियो । हामीले सुरुमा अग्रता बनाएका थियौं । दोस्रो हाफमा पनि हामीले नै अग्रता बनाएका थियौं,' उनले भने, 'तर सम्हालिन नसक्दा गोल खायौं र एक अंक मै चित्त बुझाउन परेको छ ।'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवलका लागि ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले गोल गरेका थिए । तर, विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले एक एक गोल फर्काएका थिए ।
यस्तै प्रशिक्षक श्रेष्ठले रेफ्रीहरुले गलत निर्णय गरिरहेको बताए ।
'रेफ्रीको निर्णयमा दुबै पक्ष असन्तुष्ट छैनौँ । फिजिकल कन्ट्याक्ट नहुदै फउल दियो । हामीले त्यहिँ फउलमा नै गोल खान पुग्यौ । आज एक अंक मात्र पाउदा शीर्ष स्थानको अवसर गुमायौ,' उनले भने ।
बराबरीसँगै बुटवलले ३ खेलमा ५ अंक जोडेको छ । बुटवल लिगको दोस्रो स्थानमा रहेको छ ।