काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी एफसीसँग बराबरीमा रोकिएपछि विराटनगर एफसीका मुख्य प्रशिक्षक यान लले नतिजाबाट आफु सन्तुष्ट नभएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरले बुटवल लुम्बिनीसँग २-२ गोलको बराबरी खेलेको थियो । खेलपछि भारतीय प्रशिक्षकले नतिजाबाट खुसी नभएको प्रतिक्रिया दिए ।
'नतिजामा सन्तुष्ट छैन । राम्रो टिम बुटवलसँग बराबरी खेल्न पुग्यौं । तर, नतिजा राम्रो हुन सकेको छैन । त्यसमा दुखी छु,' उनले भने ।
प्रशिक्षक यान लले रेफ्रीको निर्णयमा समेत प्रश्न उठाए । उनले रेफ्रीहरुले गलत निर्णय गरिरहेको बताए ।
'नेपाली रेफ्रीको निर्णय राम्रो भएन । यो खेल मात्र हैन । धेरै खेलमा रेफ्रीको निर्णय भएन,' उनले भने, 'एनएसएल राम्रो हो । नेपाली खेलाडीका लागि ठूलो अवसर हो । एनएसएलको व्यवस्थापन राम्रो छ । तर कुनै पनि रेफ्रीको निर्णय राम्रो भएन ।'
विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा रहेको छ ।