काठमाडौं । एफसी चितवनका मुख्य प्रशिक्षक मेघराज केसीले धनगढी एफसीविरुद्ध अहिलेसम्मकै उत्कृष्ट खेल खेलेको बताएका छन् ।
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शनिबार धनगढीसँग पराजित भएपनि टिमले प्रशिक्षक केसीले अहिलेसम्मकै उत्कृष्ट खेल खेलेको बताए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चितवन धनगढीसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
'चितवनले तेस्रो खेल खेल्दा आजको खेल सबै भन्दा राम्रो खेलेको थियो । पहिलो हाफमा हामीले राम्रो खेलेका थियौं । धेरै अवसरको सिर्जना गरेका पनि थियौं । तर, प्रहार गरेको बल बारमा लागेर फर्कियो,' उनले भने, 'धनगढीले अवसरलाई नै गोलमा परिवर्तन गर्यो ।'
प्रशिक्षक केसीले टिमको अझै तीन खेल बाँकी रहेको र आउने खेलमा सुधार हुने बताए ।
'अझै ३ खेल बाँकी छ । हामीले आउने खेलमा राम्रो गर्ने आशा छ,' उनले भने ।
प्रशिक्षक केसीले युरोपबाट आएका विदेशी खेलाडीले सोचेको जस्तो खेल्न नसकेको समेत बताए ।
'युरोपबाट नेपाल आएको खेलाडीले सोचे जस्तो प्रदर्शन गर्न सकेन । जुनु उसबाट आशा गरेको थिए त्यो भएन,' उनले थपे ।