काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे ।
जितपछि धनगढीका नाइजेरियाली तोपे फुजा खुसी देखिए । उनले दोस्रो हाफमा फरक रणनीति अपनाउदा जित सम्भव भएको बताए ।
'चितवन राम्रो टिम हो र प्रशिक्षक पनि राम्रा छन् । पहिलो हाफमा हामीले सावधानी अपनाएर खेल्यौं । हामीले जित्यौं त्यसमा खुसी छौँ,' फुजाले भने, 'हामीले पहिलो हाफमा सोचे जस्तो खेल्न सकेनौ र दोस्रो हाफमा केही नयाँ प्रयोग गर्यौं । दोस्रो हाफमा सोचेको जस्तो हुँदा गोल निस्कियो ।'
प्रशिक्षक फुजाले सबै टिम उत्तिकै बलियो रहेको कारण उपाधि जित्ने टिमबारे अहिले भन्न नसकिने बताए ।
'सबै टिम एकै स्तरका छन् । प्रशिक्षकको स्तर पनि उस्तै हो । लिग कस्ले जित्छ भन्ने अझै भन्न सकिन्न । त्यो प्रशिक्षकको रणनीतिमा भर पर्छ,' उनले थपे ।