काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत अहिले धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा धनगढी र चितवनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा चितवनले बलमा पकड जमाएको थियो र केहि उत्कृष्ट गोलको अवसर सिर्जना गरेको थियो ।
खेलको २३ औं मिनेटमा चितवनका गोरान जेर्कोभिचले गोलको सुनौलो मौका गुमाए । जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले डाइभ हान्दै बचाएपछि आएको रिबाउन्डमा पेनाल्टी बक्सभित्र रहेका गोरानको प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो ।
खेलको ३२ औं मिनेटमा चितवनका जर्ज प्रिन्सले डिबक्स भित्रबाटको प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ३६ औं मिनेटमा करिब ३५ यार्डबाट जर्ज प्रिन्सले प्रहार गरेको सशक्त प्रहार पोस्टको बारमा लाग्दै बाहिरिदा चितवन अग्रता बनाउन चुकेको थियो।
आज धनगढी चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।
धनगढी ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३-० ले पराजित भएको थियो ।
तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले हराएको थियो ।
तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
चितवनको यो तेस्रो खेल हो । चितवन पनि धनगढीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
चितवन २ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
चितवनले पहिलो खेलमा ललितपुरसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा चितवनले बुटवलसँग २-२ को बराबरी खेलेको थियो ।