काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा काठमाडौं र पोखराले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा पोखराले बलमा पकड जमाएको थियो । तर, पाएको मौकालाई सदुपयोग गर्न सकेन ।
पोखराविरुद्ध काउन्टर अट्याकमा जोड दिएको काठमाडौंले पनि केहि अवसरलाई सदुपयोग गर्न सकेन ।
खेलको तेस्रो मिनेटमा काठमाडौंका स्टेफेन बियोङले डिबक्सको बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
खेलको छैटौं मिनेटमा पोखराका मौसा अब्बाले सुनौलो मौका चुकाए । पेनाल्टी क्षेत्रबाट उनको फितलो प्रहार काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले सहजै बचाए ।
खेलको १५ औं मिनेटमा पोखराका मौसा अब्बाको फ्रिकिक काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए ।
खेलको २३ औं मिनेटमा पोखराले गोल गर्ने अवसर गुमायो । काठमाडौंका गोलकिपर विकेश कुथुको 'मिस पास' मा अनमार्क रहेका नवयुग श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।
लगत्तै रबी पासवानको क्रसमा पोखराका आयुस घलानको डाईभ हेडर पोस्टको माथिबाट गएको थियो ।
आज काठमाडौं दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ । काठमाडौं लिगको पाँचौ स्थानमा रहेको छ ।
काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १-० ले हराएको थियो ।
तर, दोस्रो खेलमा काठमाडौं धनगढी एफसीसँग ३-० ले स्तब्ध भएको थियो ।
पोखरा पनि दोस्रो जितको खोजीमा रहेको छ ।
पोखरा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
पोखरा पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० ले पराजित भएको थियो ।
तर, दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० ले हराएको थियो ।