काठमाडौं । काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे ।
उद्घाटन खेलमा जित निकालेपछि काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जन खुसी देखिए । उनले आफ्नो टिमले भन्दा विपक्षी टिमले उत्कृष्ट खेलेको समेत बताए ।
'हामी जितेर अंक लिएकोमा खुसी छौँ । तर आजको खेल हाम्रो भन्दा ललितपुरको राम्रो थियो । पहिलो हाफमा हाम्रो मिडफिल्डरले बल पकडमा राख्न सकेन । दोस्रो हाफमा भने हाम्रो योजना अनुसार नै भयो,' उनले भने ।
यस्तै महर्जनले अन्य खेलमा पहिलो दिन देखिएको कमजोरी सुधार गर्ने बताए ।
'पहिलो खेल सबैका लागि कठिन हुनेगर्छ । आज नि त्यस्तै भयो । आज भएका कमजोरीहरु अर्को खेलमा सुधार्ने छौँ,' उनले भने, 'हाम्रो टोलिमा विदेशी खेलाडी नेपालमा पहिला खेलीसकेका खेलाडी हुन । उनीहरु सजिलै उपलब्ध भए र हामिले उनीहरुलाई नै क्लबमा राखेका हौँ ।'
ललितपुरका प्रशिक्षक प्रदिप हुमागाईले विपक्षी टिमले पाएको मौकालाई सदुपयोग गरेको बताए ।
'हामीले पनि राम्रै खेल्यौं । तर, उहाहरुले आफुले पाएको मौकालाई सदुपयोग गर्नु भयो । हामीले उहाँभन्दा राम्रो खेल खेलेका हौँ । बल पोजिसन पनि हाम्रो राम्रो थियो,' उनले भने ।