काठमाडौं । समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार भएको खेलमा खालीबारी युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै समाज कल्याणले लगातार दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, शरद राई र राकेश विश्वकर्माले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा रुपेशको गोलबाट समाज कल्याणले अग्रता बनाएको थियो ।
खेलको ८६ औं मिनेटमा शरदले गोल गर्दा समाज कल्याण २-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा राकेशले गोल गर्दै समाज कल्याणलाई ३-० को जित दिलाए ।
जितसँगै समाज कल्याणले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा समाज कल्याणले सानो गौचरण युथ क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
खालीबारीको यो पहिलो हार हो । पहिलो खेलमा खालीबारीले झापा एफसीलाई २-१ ले हराएको थियो । खालीबारीले २ खेलमा ३ अंक जोडेको छ ।
दोस्रो खेलमा स्वयम्भु क्लबले ओसिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
स्वयम्भुको जितमा कुमार दोङ, सबिन गुरुङ र बिक्की राईले एक एक गोल गरे ।
ओसिसका राजन पुन मगरले एक गोल फर्काए ।
स्वयम्भुको यो पहिलो जित हो । ओसिसको यो लगातार दोस्रो हार हो ।