काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य तथा डिफेन्डर रञ्जित धिमाल मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम विराटनगर सिटी फुटबल क्लबमा अनुबन्धित भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम विराटनगरले बिहीबार रञ्जितलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।
मछिन्द्र फुटबल क्लबका डिफेन्डर रञ्जित नेपालले सन् २०१६ सोलिडारिटी कपको उपाधि जित्दा टिममा मुख्य खेलाडी हुन् ।
यस्तै पछिल्लो समय मछिन्द्रले सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि जित्दा उनी टिमका मुख्य डिफेन्डर रहेका थिए ।
सम्झौतापछि बोल्दै रञ्जित लिगमा टिमलाई रामसरो स्थानमा पुर्याउन आफुले सक्ने राम्रो प्रदर्शन गर्ने बताए ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।