काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य तथा गोलकिपर विकेश कुथु मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम काठमाडौं रेजर्स फुटबल क्लबमा अनुबन्धित भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौंले बिहीबार विकेशलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।
यस्तै बालगोपाल महर्जनलाई काठमाडौंले मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको छ ।
काठमाडौं रेजर्सका कार्यकारी निर्देशक विज्ञानराज शर्माले विकेश र बालगोपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै विकेशले मार्की खेलाडीको रुपमा अनुबन्ध भएकोमा आफु निकै खुसी भएको बताए ।
'पहिलो पटक फ्रेन्चाइज लिग हुँदैछ । यसले नेपाली फुटबललाई फाईदा पुर्याउने छ । प्रतियोगिता हरेक वर्ष निरन्तर हो भन्ने कामना छ,' विकेशले भने, 'पहिलो पटक यसरी फ्रेन्चाइज क्लबले आफुलाई किनेको छ । म निकै खुसी छु ।'
यस्तै प्रशिक्षक महर्जनले टिमलाई राम्रो स्थानमा राख्ने आफ्नो लक्ष्य रहेको बताए ।
'लामो समयबाट मैले फुटबलमा आफ्नो जीवन बिताउदै आएको थिए । आज फ्रेन्चाइज क्लबमा अनुबन्ध हुँदा धेरै खुसी भएको छु,' उनले भने, 'फुटबलमा सिकेको सीप र मेरो अनुभवले आफ्नो टिमलाई राम्रो स्थानमा पुर्याउने प्रयास रहने छ ।'
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।