काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिईने जनाएको छ ।
तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति हुने एन्फाले जनाएको छ ।
दशरथ रंगशालाको क्षमता १५ हजार रहेको छ ।
एन्फाले प्रतियोगिताको टिकट मूल्य समेत तोकेको छ ।
एन्फाले यस पटक टिकट मूल्यमा वृद्धि गरेको छ ।
एन्फाले सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर राखेको छ ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।