एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्ष जोन लापोर्टाले कप्तान तथा टिमका मुख्य खेलाडी लियोनल मेस्सी क्लबमै रहने विश्वास व्यक्त गरेका छन् ।
क्लबको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक मेस्सीबारे बोल्दै लापोर्टाले उनी क्लबमै रहने विश्वास व्यक्त गरेका हुन् ।
'निर्णय लिनका लागि म यहाँ छु । जस्तै लियो (मेस्सी) लाई विश्वस्त गराउन । यो कुरा उनलाई थाहा छ,' लापोर्टाले भनेका छन्, 'हामी तपाईंलाई यहाँ राख्नको लागि जे गर्छौं हामी गर्छौं । तपाईलाई थाहा छ तपाई छोड्न सक्नुहुन्न, लियो।'
गत महिना भएको अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका थिए ।
स्पेनिस राजनीतिज्ञ तथा वकिल समेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।
यस अघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष रहेका थिए ।
निर्वाचनमा उनको मुख्य एजेण्डा मेस्सीलाई क्लबमै राख्ने रहेको थियो ।
यस्तै अध्यक्ष लापोर्टाले बार्सिलोनालाई पुन: पुरानै लयमा फर्काउने आफ्नो योजनामा रहेको बताए ।
'हामीसँग ईतिहासका सर्वश्रेष्ठ खेलाडीहरू थिए । हामी सफल भयौं किनकी हामीसँग स्थिरता थियो,' लापोर्टाले भने, 'बार्सिलोनाको एकता जसले स्थिरता दिन्छ र म सबैलाई आमन्त्रण गर्छु की बार्सिलोनाका लागि के गर्न सक्छौ ।'
३३ वर्षीय मेस्सीले सिजनको अन्त्यसंगै क्लब छाड्ने बताईएको छ । किनकी पछिल्लो समय बार्सिलोनाको प्रदर्शन खराब र उपाधि विहीन हुँदै आइरहेको छ ।
मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको छ ।