काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य तथा फरवार्ड भरत खवास मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम एफसी चितवनमा अनुबन्धित भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम चितवनले बुधबार भरतलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।
यस्तै मेघराज केसीलाई चितवनले मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको छ ।
सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य रहेका छन् ।
चितवनका मालिक सञ्जित ढकालले बुधबार भरत, मेघराज र शैलेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।
टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।
लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् ।