काठमाडौं । समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा सानो गौचरण युथ क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै समाज कल्याणले सुखद सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एक एक गोल गरे ।
सानो गौचरणका उर्गेन लामा र रमण तामाङले एक एक गोल फर्काए ।
खेलको २५ औं मिनेटमा रुपेशले गोल गर्दै समाज कल्याणलाई १-० को अग्रता दिलाएका थिए ।
तर, २९ औं मिनेटमा उर्गेनले गोल गर्दै सानो गौचरणलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ५३ औं मिनेटमा राकेशले गोल गरेपछि समाज कल्याणको अग्रता २-१ को बन्यो ।
५७ औं मिनेटमा रमणले गोल गर्दै सानो गौचरणलाई २-२ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ७७ औं मिनेटमा शरदले गोल गर्दै समाज कल्याणलाई ३-२ को जित दिलाए ।
जितसँगै समाज कल्याणले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
सानो गौचरणले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।
प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।