काठमाडौं । विरगंज युनाईटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा सानेपा क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै विरगंजले विजयी सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा विरगंजलाई जित दिलाउन विवेक चौधरी, संजय चौधरी र आशालाल कुँवरले एक एक गोल गरे ।
सानेपाका उज्वल लामा र करण तामाङले एक एक गोल फर्काए ।
खेलको १० औं मिनेटमा विवेकले गोल गर्दै विरगंजलाई अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा उज्वलले पेनाल्टीमा गोल गर्दै सानेपालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३२ औं मिनेटमा संजयले गोल गरेपछि विरगंजले २-१ को अग्रता बनायो ।
खेलको ३९ औं मिनेटमा आशालालले गोल गर्दै विरगंजलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ४६ औं मिनेटमा सानेपाका करणले गोल गरेपछि विरगंज ३-२ ले विजयी भयो ।
जितसँगै विरगंजले पहिलो खेलमा ३ अंक जोडेको छ । सानेपाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।
प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।