एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
काग्लियारीको मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।
घरेलु टिमका जियोभानी सिमओनले एक गोल फर्काए ।
खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ३२ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो ।
यस्तै खेलको ६१ औं मिनेटमा जियोभानीले एक गोल फर्काएपनि युभेन्ट्स ३-१ ले विजयी भयो ।
काग्लियारीविरुद्धको यस ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।
रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।
ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।
यस जितसँगै युभेन्ट्सले २६ खेलमा ५५ अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा रहेको छ ।
काग्लियारी २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।