काठमाडौं । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा ओसिस क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले सुखद सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलको २९ औं मिनेटमा सनम भुजेलले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा चर्च ब्वाइजका अजय मनलको आत्मघाती गोलबाट ओसिसले १-१ गोलको बराबरी गर्यो ।
तर, दोस्रो हाफमा चर्च ब्वाइजले तीन गोल गर्यो ।
खेलको ५९ औं मिनेटमा सोम थापाले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को अग्रता दिलाए ।
९० औं मिनेटमा कुवेर न्यौपानेले गोल गर्दै चर्चको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा सोम थापाले व्यक्तिगत दोस्रो गोल गर्दै चर्चलाई ४-१ को जित दिलाए ।
जितसँगै चर्च ब्वाइजले पहिलो खेलमा ३ अंक जोडेको छ । ओसिसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।
प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।