काठमाडौं । खालीबारी युथ क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको उद्घाटन खेलमा झापा एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै खालीबारीले सुखद सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता उल्टाएर खालीबारीले जित निकालेको हो ।
खालीबारीलाई जित दिलाउन विपिन कँडेल र सुदिप केसीले एक एक गोल गरे ।
झापाका सरोज दोर्जी कार्कीले एक गोल फर्काए ।
खेलको ३३ औं मिनेटमा सरोजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।
तर, ३४ औं मिनेटमा विपिनले गोल गर्दै खालीबारीलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा सुदिपले गोल गर्दै खालीबारीलाई २-१ को जित दिलाए ।
जितसँगै खालीबारीले पहिलो खेलमा ३ अंक जोडेको छ । झापाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।
प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।