काठमाडौं । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा सहभागी बन्ने शहर र टिम मालिकको घोषण आज (आईतबार) हुदैछ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शहर र टिम मालिकको घोषणा गर्न लागेको हो ।
घरेलु क्रिकेटमा सफल बनेको फ्रेन्चाईज प्रतियोगिता फुटबलमा समेत सुरुवात गर्न लागिएको छ । देशकै ठुलो ब्यापारिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको अग्रसरतामा फ्रेन्चाईज फुटबल सुरुवात हुन लागेको हो ।
आयोजकले यसअघि पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख ११ गतेदेखि बैशाख २५ गतेसम्म सञ्चालन गरिने जानकारी गराईसकेको छ ।
एन्फाको प्राविधिक सहयोग रहने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व हुने गरि ७ टिम समावेश गरिने आयोजकले जानकारी गराईसकेको छ ।
सन् २०१९ मा घोषणा भएको प्रतियोगिता दशरथ रंगशालाको पुननिर्माण पुरा नभएका कारण पछि सरेको थियो । पछिल्लो एक वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण समेत प्रतियोगिता प्रभावित बन्यो ।
आयोजकले यसअघिनै पत्रकार सम्मेलन गरेर फ्रेन्चाईजको विषयमा जानकारी गराईसकेको छ ।
आईतबार होटल सोल्टीमा दिउँसो २ बजे हुने कार्यक्रममा ७ शहरबाट नामाकिंत टिम र मालिकलाई सार्वजनीकरण गरिनेछ ।
स्रोतका अनुसार राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारश खड्काले समेत फ्रेन्चाईज टिम किन्न प्रयास गरेका थिए ।
अक्सनका आधारमा खेलाडी छनोट गरिने प्रतियोगितालाई एन्फाले दुई महिनासम्मको विन्डो (समय) दिएको छ ।
पहिलो संस्करणका सम्पुर्ण खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दोस्रो संस्करणदेखि फ्रेन्चाईजलाई होम एण्ड अवेका आधारमा सञ्चालन गर्ने आयोजकले योजना बनाएको छ ।
याे पनि,
एनएसएलमा माथिल्लो स्तरको फुटबल हेर्न पाईनेछ - सुदीप शर्मा (अन्तरवार्ता)