काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २/२ गोल गरिन् । यस्तै अमृता जैशी र निर्मला बिकले एक एक गोल गरिन् ।
खेलको २८ औं मिनेटमा रेखाको गोलबाट पुलिसले अग्रता बनाएको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान निरु थापाले मैदानको दायाँ भागबाट उपलब्ध गराएको पासमा रेखाले वान टच गोल गरेकी हुन् ।
खेलको ४१ औं मिनेटमा अमृताले गोल गर्दा पुलिसले अग्रता दोब्बर बनायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् । अमृताको प्रहार चौदण्डीगढीकी गोलरक्षक देबिका श्रेष्ठले ठम्याउन सकिनन् ।
खेलको ४५ औं मिनेटमा पुलिसले तेस्रो गोल गर्यो । सिर्जनाले प्रहार गरेको बल चौदण्डीकी गोलरक्षक देबिकालाई लाग्दै गोलमा परिणत भएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा निर्मलाले गोल गरेपछि पहिलो हाफमा पुलिस ४-० को अग्रता बनायो ।
दोस्रो हाफमा पुलिसले थप दुई गर्यो ।
खेलको ८९ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ६-० को जित दिलाईन् ।
जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ ।
पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।
चौदण्डीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक सन्जिब जोशीले खेल सोचेजस्तो हुँदा नतिजा निस्किएको बताए ।
'खेल राम्रो भयो । सोचेजस्तो नै भयो । पुजाले गर्दा डिफेन्स राम्रो भयो,' उनले भने ।
चौदण्डीका दिपक थापाले पहिलो हाफमै धेरै गोल खादा खेल बिग्रिएको बताए ।
'आजको खेलमा डिफेन्स खेल्ने भन्ने थियो । पहिलो हाफमा ४ गोल खाएपछि तालमेल नमिलेको जस्तो देखियो,' उनले भने ।