काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले ४-० को अग्रता बनाएको छ ।
पुलिसका लागि रेखा पौडेल, अमृता जैशी, सिर्जना खड्का र निर्मला बिकले एक एक गोल गरिन् ।
खेलको २८ औं मिनेटमा रेखाको गोलबाट पुलिसले अग्रता बनाएको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान निरु थापाले मैदानको दायाँ भागबाट उपलब्ध गराएको पासमा रेखाले वान टच गोल गरेकी हुन् ।
खेलको ४० औं मिनेटमा अमृताले गोल गर्दा पुलिसले अग्रता दोब्बर बनायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् । अमृताको प्रहार चौदण्डीगढीकी गोलरक्षक देबिका श्रेष्ठले ठम्याउन सकिनन् ।
खेलको ४५ मिनेटमा पुलिसले तेस्रो गोल गर्यो । सिर्जनाले प्रहार गरेको बल चौदण्डीकी गोलरक्षक देबिकालाई लाग्दै गोलमा परिणत भएको थियो ।
यस्तै खेलको इन्जुरी समयमा निर्मलाले गोल गरेपछि पहिलो हाफमा पुलिस ४-० ले अघि रहेको छ ।
आज पुलिस पहिलो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।
उपाधि दाबेदार मानिएको पुलिसका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
चौदण्डी भने पुलिसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
चौदण्डीको यो पहिलो खेल हो ।