काठमाडौं । प्रशिक्षक फ्राङ्क लाम्पार्डले शनिबार फुलहमविरुद्धको खेलमा चेल्सी जितको लायक रहेको प्रतिक्रिया दिएका छन् ।
मासन माउन्टले दोस्रो हाफमा गरेको गोलमा चेल्सीले घरेलु टोली फुलहमलाई १–० ले हराएको थियो । फुलहमका एन्टोनी रोविन्सन पहिलो हाफको अन्तिम मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि चेल्सीले दोस्रो हाफ १० खेलाडीविरुद्ध खेलेको थियो ।
लण्डन क्लबले प्रिमियर लिगका पछिल्ला तीन खेलमा जित निकाल्न सकेको थिएन । शनिबार राति प्राप्त जित सहित चेल्सी तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
‘पक्कैपनि जितले खुसी दिएको छ । लिगको पछिल्लो फर्म अनुसार सजिलो थिएन । तर त्यसलाई तोड्नु पर्नेछ ।’ लाम्पार्डले भने ।
‘फुलहमले गाह्रो बनायो । हामीले राम्रो सुरुवात गर्यौ । बलमा नियन्त्रण गर्यौ । १० खेलाडीविरुद्ध खेल्न सजिलो भएन । हामी अघि बढ्यौ र हामीले प्राप्त गर्यौ । यो रातको हामी लायक थियौं ।’ उनले थपे ।
‘१० खेलाडीविरुद्ध बल अघि बढाउन दबाब हुन्छ । पछिल्लो फर्मले यसलाई गाह्रो बनाएको थियो । आत्मविश्वास केही कम थियो । तर हामीले भेट्टायौं । म खुसी छु ।’ लाम्पार्डले भने ।
‘म खेलाडीको क्षमतामा विश्वास गर्छु । मलाई लागेको थियो, हामीलाई लक्ष्य प्राप्ती हुनेछ । हामीले निरन्तर दबाब दिएका थियौं । हामी धैर्य हुन आवश्यक थियो । मलाई लाग्छ, हामी सफल भयौं ।’ उनले थपे ।
माउन्टले यस सिजन दोस्रो गोल गरे । लाम्पार्डले सिजनको आगामी खेलमा उनले आफ्नो रेकर्डलाई सुधार गर्ने अपेक्षा गरे । उनी इङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडीको प्रर्दशनमा सन्तुष्ट देखिए ।
‘मासन गहिरो भुमिकामा थिए । तर उनी कुनैपनि समय आउन सक्छन् । उनले धेरै गोल गर्न आवश्यक छ । उनलाई त्यो थाहा छ । तर उनको क्षमता र आचरण निकै शानदार छ ।’ लाम्पार्डले प्रशंसा गरे ।