एजेन्सी । ईडिन्सन काभानी चम्किएको खेलमा म्यान्चेष्टर युनाईटेड कारबाओ कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वार्टरफाईनलको खेलमा म्यान्चेष्टर युनाईटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ ।
युनाईटेडको जितमा ईडिन्सन काभानी र एन्थोनी मार्टियलले एक एक गोल गरे ।
खेल सकिन दुई मिनेट अघि काभानीले गोल गर्दै युनाईटेडलाई जितको नजिक पुर्याएका थिए । एन्थोनी मार्टियलको पासलाई सदुपयोग गर्दै काभानीले बराबरी उन्मुख खेलमा युनाईटेडका लागि गोल गरेका थिए ।
उनै मार्टियलले ईन्जुरी समयमा गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरे । मार्कुस रासफोर्डले उपलब्ध गराएको पासमा मार्टियलले गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरेका थिए ।
दोस्रो हाफमा एभर्टन केही कमजोर देखिएको थियो । चोट बोक्दै मुख्य खेलाडी रिचर्डलिसन मैदान बाहिरिएपछि एभर्टन केही सुस्त देखिएको थियो ।
कार्लोस एन्सेलोटीको एभर्टनको लगातार तीन खेलका जितको यात्रामा पूर्ण विराम लागेको छ । एभर्टन प्रिमियर लिग फुटबलको चौथो स्थानमा छ ।