एजेन्सी । रियल मड्रिडले स्पेनिस लिगमा शीर्ष स्थानको एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ ।
बुधबार राति रियल मड्रिडले ग्रानाडालाई २–० ले हराउँदै शीर्ष स्थानको एट्लेटिकोसंग अंक बराबरी गर्न सफल भएको छ ।
शीर्ष स्थानको एट्लेटिको र रियल मड्रिडको समान ३२ अंक छ । गोल अन्तरका आधारमा शहरी प्रतिद्धन्दी शीर्ष स्थानमा छ । अझ एट्लेटिकोले रियल भन्दा दुई खेल कम समेत खेलेको छ ।
कासमिरोले ५७ औं मिनेटमा हेडमार्फत गोल गर्दै रियललाई अघि बढाएका थिए । बायाँबाट मार्को एसेन्सियोको पासलाई सदुपयोग गर्दै ब्राजिली स्टारले घरेलु टोलीलाई अघि बढाएका थिए ।
ईन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । ईस्कोको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई २–० को जित दिलाएका हुन् ।
यस सिजन बेन्जिमाले ला लिगामा ८ गोल पुरा गरेका छन् ।
पहिलो हाफमै ब्राजिली विङ्गर रोड्रिगोले चोट बोकेका थिए । उनलाई स्ट्रेचर राखेर मैदान बाहिर लगिएको थियो ।
रियलले सबै प्रतियोगितामा गरि लगातार ६ खेलमा जित निकालेको छ । ला लिगामा मात्र लगातार ५ खेलमा जित निकाल्न रियल सफल भएको छ ।