एजेन्सी । म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलबार राति जर्मन क्लब आरबी आईपेजिगसंग पराजित हुँदै युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो ।
समूह एचको अन्तिम तथा निर्णायक खेलमा लाईपेजिगले युनाईटेडलाई ३–२ गोल अन्तरले पराजित गर्यो । समूह चरणमा ९ अंक जोडेका दुवै टिमलाई नकआउट चरण पुग्न जित आवश्यक थियो ।
युनाईटेडलाई बराबरीको नतिजाले समेत नकआउट चरण पुर्याउन समिकरण थियो । तर आले गुनर सोल्सायरको टिमले दोस्रो हाफको अन्तिममा दुई मिनेटभित्र दुई गोल गर्दै खेलमा फर्कने कोशिश गरेपनि टोलीको हार टार्न सकेन ।
घरेलु मैदानमा निकै आक्रमक देखिएको लाईपेजिगले ६९ मिनेटभित्र ३–० को अग्रता बनाएको थियो ।
युनाईटेडका ब्रुनो फर्नान्डेजले ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए । त्यसको दुई मिनेटपछि ब्रुनोकै पासलमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडको आश जिवित बनाएका थिए । तर थप एक गोल नसकेपछि युनाईटेड प्रतियोगिताबाट बाहिरिएको छ ।
घरेलु टोलीले सुरुवातमै एन्जिलोनीको गोलमा खेलमा अग्रता बनाएको थियो ।
१३ औं मिनेटमा अमदो हैदरले लाईपेजिगको अग्रता दोब्बर बनाउने काम गरे । ६९ औं मिनेटमा जस्टिन क्लुइवर्टले लाईपेजिगका लागि तेस्रो गोल गरेका थिए ।
गत सिजन अन्तिम ४ सम्मै पुगेको लाईपेजिगले यस सिजन समेत अन्तिम १६ सम्मको यात्रा निश्चित गरेको छ ।
सोही समूहको अर्को खेल मंगलबारलाई स्थगित हुन पुग्यो । पीएसजी र इस्तानबुल बासाकेशिरबीचको खेलले समूह विजेता टोलीको टुङ्गो लगाउनेछ ।