एजेन्सी । तेस्रो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले भारतलाई १ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार सिड्नीमा भारतले टस जितेर फिल्डिङमा उत्रिएपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो ।
ओपनर म्याथ्यु वेडले ८० रनको शानदार ईनिङ्स खेलेपछि अष्ट्रेलिया ठुलो स्कोरतर्फ अघि बढेको हो । उनले ५३ बलमा ७ चौकार २ छक्काको मदतले सर्वाधिक स्कोर बनाए ।
घरेलु टोलीका लागि ग्लेन म्याक्सवेलले ५४ रनको विस्फोटक अर्धशतकिय ईनिङ्स खेले । उनले ३६ बलमा ३ चौथा र ३ छक्काको मदतले सो रन बनाए ।
स्टेभन स्मिथले २४ रन बनाउँदा कप्तान आरोन फिन्च शुन्य रनमा पवेलियन फर्किए । भारतका वासिङ्टन सुन्दरले २ तथा टी नटराजन र सार्दुल ठाकुरले समान एक एक विकेट लिए ।
भारतले एक खेल अगावै तीन म्याचको टी–ट्वान्टी सिरिज जितिसकेको छ । पहिलो खेलमा ६६ रनले घरेलु टोलीलाई हराएको भारतले दोस्रो खेलमा ६ विकेटले स्तब्ध बनाएको थियो । १ सय ९५ रनको बिशाल स्कोर भारतले २ बल अगावै मात्र ४ विकेट गुमाएर पुरा गरेको थियो ।
भारत अन्तिम खेल जित्दै टी–ट्वान्टी सिरिज क्लिन स्विप गर्ने दाउमा छ ।
यसअघि खेलिएको एक दिवसीयमा सिरिज भने अष्ट्रेलियाले २–१ले जितेको थियो ।