एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
एनफिल्डमा दर्शक सहितको खेलमा लिभरपुलले प्रभावशाली जित आत्मसाथ गरेको हो ।
खेलको २४ औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिरभपुललाई अग्रता दिलाएका थिए । जोर्डन हेन्डरसनको लामो बलमा उल्भ्सका डिफेन्डर कोनर झुक्किएपछि सालाहले सुरुवाती अग्रता दिलाएका थिए ।
हेन्डरसनकै पासलाई सदुपयोग गर्दै विजनाल्डमले ५८ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे ।
माटिपले ६७ औं मिनेटमा लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए ।
खेल सकिन १० मिनेट अघि निल्सन सिमिडोले आत्मघाति गोल गरेपछि लिभरपुलले फराकिलो अन्तरको जित निकाल्यो ।
जितसंगै लिभरपुलले शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी गरेको छ । दुवै टिमको समान २४ अंक छ ।
टोटेनहमले आईतबारमात्र आर्सनललाई २–० ले पराजित गरेको थियो । उल्भ्स १७ अंक सहित तालिकाको १० औं स्थानमा छ । उल्भ्स पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड भन्दा २ अंकले मात्र पछि छ ।