एजेन्सी । भारतीय फुटबलको दोस्रो डिभिजनको आईलिगको मिति सार्वजनिक भएको छ ।
भारतीय फुटबल महासंघ (एआईएफएफ) ले बिहीबार आईलिग छनोटको खेल तालिका सार्वजनिक गरेको हो ।
एआईएफएफले सार्वजनिक गरेको खेल तालिका अनुसार दोस्रो डिभिजनको लिग अक्टोबर ८ बाट सुरु हुनेछ ।
५ टिम सहभागी प्रतियोगिता सिंगल राउण्ड रोबिण्डका आधारमा हुनेछ । खेलहरु दुई मैदानमा खेलाईनेछ ।
लिगको उद्घाटन खेलमा भवानीपुरले बेगरुलु युनाईटेडको सामना गर्नेछ ।
यस पटकको लिगमा नेपालका दुई खेलाडीले खेल्ने छन् । १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता अभिषेक रिजाल र राजेश परियारले यस पटकको लिग खेल्ने पक्का भएको हो ।
नेपाल राष्ट्रिय टिमको समेत प्रतिनिधित्व गरिसकेका अभिषेकले मोहम्मेदन स्पोर्टिङ क्लब र उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेको राजेश एआरए एफसीसँग आबद्ध छन् ।
लिगको दोस्रो खेलमा अभिषेक आबद्द मोहम्मेदन एफसीले गढ्वाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो खेलमा भने राजेश आबद्द रहेको टिम र अभिषेकको टिम भिड्नेछन् ।
यस पटकको छनोटमा एआरए एफसी, भवानीपुर एफसी, बेगरुलु युनाईटेड एफसी, गढवाल एफसी र मोहम्मेदन स्पोर्टिङ क्लब रहेका छन् ।
कोरोना भाईरसको महामारीबीच भारतले फुटबल सुरु गर्न लागेको हो ।