एजेन्सी । प्रिमियर लिग क्लब एभर्टन काराबाओ (ईएफएल) कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा लिग टु क्लब साल्फोर्ड सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै एभर्टनले तेस्रो चरणको यात्रा तय गरेको हो ।
घरेलु मैदान गुडिसन पार्कमा माइकल किनले आठौं मिनेटमा गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।
७४ औं मिनेटमा गिल्फी सिगुर्डसनले गोल गर्दै एभर्टनको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मोइज केनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई ३-० को जित दिलाए ।
अब एभर्टनले तेस्रो चरणमा लिग वान क्लब फ्लिटउड टाउनसँग खेल्नेछ ।
अर्को खेलमा हल सिटीले लिड्स युनाइटेडलाई पेनाल्टी सुटआउटमा ९-८ ले हराएर अर्को चरणको यात्रा तय गरेको छ ।
निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
त्यस्तै साउथह्याम्पटनलाई २-० ले हराएर ब्रेनफोर्टले तेस्रो चरणको यात्रा तय गरेको छ ।