एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले शानदार सुरुवात गरेको छ ।
खेलाडी सरुवा बजारमा ठुला रकम खर्चिएको लण्डन क्लबले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो ।
मंगलबार बिहान ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१ को जित निकाल्यो ।
चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए ।
खेलमा अग्रता चेल्सीले २३ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो । ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पाएको थियो । जसमा कप्तानी भूमिकामा रहेका जोर्गिन्हो चुकेनन् ।
५४ औं मिनेटमा ट्रोसार्डको गोलमार्फत ब्राइटन खेलमा फर्कने संकेत गरेको थियो । ब्राइटनका युवा खेलाडी लाम्पार्टीले उपलब्ध गराएको पासमा उनले डिबक्स बाहिरबाट गोल गरेका थिए । लाम्पार्टीले ब्राइटनबाट खेलमा राम्रो प्रभाव जमाएका थिए । उनले चेल्सीको डिफेन्स लाइनलाई दबाबमा राखेका थिए ।
ब्राइटनले बराबरी गोल फर्काएको दुई मिनेटमै चेल्सीले खेलमा पुन अग्रता बनायो । जेम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । जोर्गिन्होले उपलब्ध गराएको पासलाई जेम्सले पोस्टको दिसा दिएका थिए ।
उनै जेम्सको पासमा चेल्सीका डिफेन्डर जुमाले कमजोर डिफेन्सको फाइदा उठाउँदै चेल्सीका लागि तेस्रो गोल गरेका थिए ।
मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए ।
पहिलो हाफमा अग्रता लिएपनि चेल्सीको प्रर्दशन सुस्त थियो । दोस्रो हाफमा मात्र चेल्सीले लय समाएको देखिन्थ्यो । प्रिमियर लिगको डेब्यु खेलमा वार्नरले प्रभाव जमाएपनि गोल गर्न भने सकेनन् ।
जितसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।