काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाले) मानार्थ अध्यक्ष टासी घलेलाई केन्द्रिय कार्यालयमा औपचारिक रुपमा स्वागत गरेको छ ।
तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनित भएका घलेलाई एन्फाले ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा औपचारिक स्वागत गरेको हो ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले मानार्थ अध्यक्ष घलेलाई केन्द्रिय कार्यालयमा औपचारिक स्वागत गरेका थिए ।
मानार्थ अध्यक्षलाई स्वागत गर्न एन्फा पदाधिकारी केन्द्रिय कार्यालयमा उपस्थित गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले पुष्प गुच्छा सहित घलेलाई स्वागत गरेका थिए । गत मंगलबारको एन्फा केन्द्रिय कार्यसमिति बैठकले घलेलाई तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनित गरेको थियो ।
शेर्पाले एन्फा निर्वाचनमा विजयी भए लगत्तै पूर्व सहमती अनुसार घलेलाई मानार्थ अध्यक्षमा मनोनित गरेका थिए ।
मानार्थ अध्यक्षमा नियुक्त भए लगत्तै घलेले एन्फाको अन्तराष्ट्रिय विभाग वा युवा एकेडेमी तथा परियोजना सञ्चालनको जिम्मेवारी आफुले पाउनुपर्ने अडान राखेका थिए ।
एन्फाले अन्तराष्ट्रिय विभागमा नविन पाँडे र युवा एकेडेमी सञ्चालनमा उपाध्यक्ष उपेन्द्रमान सिंहलाई जिम्मेवारी दिएपछि घले एन्फा नेतृत्वसंग असन्तुष्ट थिए ।
लगत्तै उनले एन्फाका असन्तुष्ट जिल्ला फुटबल संघसंग मिलेर निर्वाचनमा भएको भनिएको आर्थिक लेनदेनको अडियो टेप सार्वजनिक गरेका थिए ।
मानार्थ अध्यक्षनै एन्फाबिरुद्धमा लागेपछि उनको मानार्थ पद एन्फाले खारेज गर्दै कारबाही प्रक्रिया अघि बढाएको थियो । मानार्थ अध्यक्षमा पुनर्बहालीको माग गर्दै घलेले अदालतमा मुद्धा दायर गर्नेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दबाब दिने काम गरेका थिए ।
राखेपकै जोडमा घलेलाई एन्फाले पुन मानार्थ अध्यक्षमा नियुक्त गरेको हो ।
राखेप सदस्य सचिव रमेश सिलवालको बिशेष अनुरोधमा घले पुन एन्फा फर्किएका हुन् । नेपाल गल्फ संघका अध्यक्ष समेत रहेका घले नेपाल ओलम्पिक कमिटि कार्यसमिति सदस्य हुन् ।