काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामाले सुरक्षाको उचित प्रबन्ध गरेर मात्र राष्ट्रिय फुटबल टिमको प्रशिक्षण थाल्नु पर्ने सुझाव दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको खेलहरुको तयारी गर्ने निर्णय गरे लगत्तै मिडफिल्डर लामाले यस्तो बताएका हुन् ।
‘सुरक्षाको उचित प्रबन्ध गरेर मात्र फुटबल सुरु गर्नुपर्छ । स्वास्थ्य सुरक्षाको पुरा ग्यारेन्टी नभएर प्रशिक्षण सुरु गर्नु हुदैन ।’ उनले खेलपाटीसंग भने ।
मिडफिल्डर लामाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु हुदै गर्दा सुरक्षाको उचित उपाय अपनाउन समेत सरकार र एन्फालाई सुुझाव दिएका छन् ।
‘सुरक्षाको उचित उपाय अपनाउनुपर्छ । गाह्रो भए तत्काललाई थाती राख्न समेत फरक पर्दैन ।’ उनले भने ।
एन्फाले सन् २०२० को अक्टोबर ८ देखि नेपालमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलका लागि अर्को महिनाबाट प्रशिक्षण थाल्ने निर्णय गरेको छ ।
प्रशिक्षण सञ्चालनका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयसंग आवश्यक स्विकृतिका लागि पत्राचार प्रक्रिया समेत अघि बढाएको छ ।
युरोपमा स्वास्थ्य सुरक्षाको राम्रो प्रबन्ध गरेर शीर्ष डिभिजनका लिग फुटबल सुरु भईसकेका छन् । जर्मन बुन्डेसलिगा, ला लिगा, प्रिमियर लिग र सिरि ए फुटबलका खेलहरु सहज रुपमा सञ्चालन भईरहेका छन् । शीर्ष डिभिजनको लिग सञ्चालन भएसंगै युरोपेली फुटबल महासंघ (यूईएफए)ले समेत च्याम्पियन्स लिग फुटबलको सिजन सक्ने गरि तालिका सार्वजनीक गरेको छ ।
राखेपले यसअघि फुटबल गतिविधि सञ्चालनका लागि कोरोना रोकथामका लागि उच्च स्तरीय समितिसंग अनुरोध गरेको थियो । तर लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको सरकारले खेल मैदान तथा रंगशाला भने तत्काल नखोल्ने निर्णय गरेको थियो ।
कोरोना महामारीका कारण घरेलु खेलकुद समेत करिब तीन महिनादेखि रोकिएको छ । सरकारले लकडाउन खुकुलो बनाएपनि फुटबल सहित समुहगत रुपमा खेलिने खेल सञ्चालनका लागि समस्या परेको छ । देशभर आवश्यक स्वास्थ्य सामाग्री तथा परिक्षण प्रयोगशालाको अभाव भईरहेको समय स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध गरेर खेल सञ्चालन गर्न कठिन देखिएको हो ।
राष्ट्रिय फुटबल टिमका सदस्य भने एन्फाको पछिल्लो निर्णयमा खुसी छन् । उनीहरुले फुटबल फर्काउने निर्णय स्वाग्त योग्य रहेको उल्लेख गर्दै राष्ट्रिय फुटबल टिमले प्रशिक्षण थाल्दा अन्य खेलकुद गतिविधि समेत अघि बढ्ने धारणा राख्छन् ।
‘फुटबलको प्रशिक्षण पुन सुरु हुनु राम्रो संकेत हो । खेलाडीमा शारिरिक मात्र नभएर मानसिक तनाव थपिएको थियो ।’ बिक्रम भन्छन्, ‘प्रशिक्षण सुरु हुने निर्णयले आशा पलाएको छ । यसले खेलाडीलाई तनावबाट मुक्त हुन सहयोग पुर्याउँछ ।’
राखेपसंग आबद्ध अन्य खेलकुद संघले समेत प्रशिक्षणका लागि अनुमती मागेका छन् । तर सरकारले कोरोना संक्रमितको संख्या बढेसंगै खेल गतिविधि तत्काल अघि बढाउन अनुमती दिएको छैन । सोही कारण व्यक्तिगत स्पर्धाका खेलकुद गतिविधि समेत औपचारिक रुपमा सञ्चालन गर्न राखेपलाई समस्या परेको छ ।
aराष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम फुटबल फर्किएसंगै अन्य खेलकुद गतिविधि समेत सञ्चालन गर्न सहज हुने धारणा राख्छन् ।
‘फुटबल टिमको प्रशिक्षण सुरु भएसंगै सबै जिल्ला फुटबल संघका गतिविधि अघि बढ्छन् । यसले खेलकुदको वातावरण बनाउन मदत गर्छ ।’ उनले भने, ‘यसले मानिसमा आशा पलाउँछ । जिवनशैली पुरानै लयमा फर्किएको संकेत गर्नेछ ।’