एजेन्सी । सन् २०२१ को अफ्रिका कप अफ नेसन्स फुटबल तोकिएकै समयमा आयोजना हुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण ठुला खेलकुद प्रतियोगिता स्थगित भईरहेको अवस्थामा ३३ औं संस्करणको प्रतियोगिता तोकिएकै मितिमा गरिने भएको हो ।
क्यामरुनमा तय भएको प्रतियोगिता आगामी जनवरी १० देखि फेब्रुवरी ८ सम्म हुनेछ ।
मिति तय भएपनि पछिल्लो समय कोरोनाको महामारी बढेसँगै प्रतियोगिता आयोजना हुनेमा अन्योलमा रहेको थियो ।
तर, अफ्रिकन फुटबल महासंघले प्रतियोगिता तोकिएकै मितिमा आयोजना गर्न प्राथमिकतामा राखिएको जनाएको छ ।
'क्यामरुनमा हुने अफ्रिका कप अफ नेसन्स अझै जनवरी १० देखि फेब्रुवरी ८ सम्म नै आयोजना गर्ने योजना छ,' प्रतियोगिता निर्देशक सामसन अडमुले बीबीसी स्पोर्ट्स अफ्रिकासँग भने ।
यस अघि सन् २०१९ मा भएको अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको थियो ।