एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) ठुला क्लब म्यानचेस्टर युनाइटेड र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।
कोरोना भाईरसको महामारीबीच सुचारु लिगपछि युनाइटेडले पहिलो खेलमा टोटेनहमसँग खेल्न लागेको हो ।
टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
ह्वाइट हर्ट लेनमा मैदान उत्रदा दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछ । त्यसैले दुई टिमबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
घरेलु मैदानमा टोटेनहम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । लिगको आठौं स्थानमा रहेको टोटेनहमले ४१ अंक जोडेको छ ।
घरेलु मैदानमा जित निकाले टोटेनहम शीर्ष ६ मा पुग्नेछ ।
युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका जोसे मोरिन्होलाई चोट मुक्त खेलाडीले राहत दिनेछ ।
कप्तान ह्यारी केन र विंगर सन ह्युङ मिन युनाइटेडविरुद्ध खेल्ने छन् । चोटका कारण दुवै खेलाडी लामो समय टिमबाहिर रहेका थिए ।
चोटकै कारण मैदान बाहिर रहेका मिडफिल्डर मौसा सीसीको समेत युनाइटेडविरुद्धको खेलबाट मैदान फर्कने बताईएको छ । प्रतिबन्धका कारण डेली अली टिम बाहिर रहेका छन् ।
तर, बलियो युनाइटेडविरुद्ध जित निकाल्न टोटेनहमलाई सहज भने हुने छैन । किनकि युनाइटेड पनि जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ ।
पाँचौं स्थानको युनाइटेडले ४५ अंक जोडेको छ । घरेलु टोलीलाई पराजित गरे युनाइटेड चौंथो स्थानमा उक्लने छ ।
ओले गुनर सोल्सायरले टोटेनहमविरुद्ध लामो समय मैदान बाहिर रहेका पाउल पोग्बालाई मैदान उतार्ने सम्भावना रहेको छ । चोटका कारण मिडफिल्डर पोग्बा गत सेप्टेम्बरबाट खेलेका छैनन् ।
प्रिमियर लिग अन्तर्गत नै शुक्रबार नर्विच सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ ।