एजेन्सी । कोपा इटालिया फुटबलको फाइनल खेल आज ( बुधबार) राति हुँदैछ ।
कोपा इटालियाको फाइनलमा युभेन्ट्स र नापोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
रोमको ओलम्पिक स्टेडियममा दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ रहने युभेन्ट्स सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
युभेन्ट्स कोपा इटालियामा सर्वाधिक सफल टिम हो । युभेन्ट्सले कीर्तिमानी १३ पटक उपाधि जितिसकेको छ ।
यता, ४ पटकको च्याम्पियन नापोली पनि युभेन्ट्सलाई हराएर उपाधि उचाल्न चाहन्छ ।
सेमिफाइनलमा युभेन्ट्सले एसी मिलानलाई अवे गोलको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । युभेन्ट्सले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो ।
नापोलीले सेमिफाइनलमा इन्टर मिलानको चुनौती समाप्त गर्दै युभेन्ट्ससँगको भेट पक्का गरेको हो । णापोलीले पछिल्लो पटक सन् २०१४ मा उपाधि उचालेको थियो ।