एजेन्सी । प्रोफेसनल फुटबलर एसोसियसन (पीएफए) का प्रमुख कार्यकारी गोर्डन टेलरले प्रिमियर लिगका खेलाडी सामाजिक उत्तरदायित्वमा सजग रहेको बताएका छन् ।
बीबीसी स्पोर्ट्ससँग कुरा गर्दै टेलरले खेलाडी आफ्नो सामाजिक जिम्मेवारीमा सजग रहेको र कोरोना भाईरसविरुद्ध अभियानका लागि तयार रहेको बताएका हुन् ।
कोरोनाको कारण क्लबमा पर्ने संकटलाई मध्ये नजर गर्दै प्रिमियर लिग क्लबले खेलाडीको ३० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको थियो ।
तर, क्लबको प्रस्तावमा खेलाडीले औपचारिक निर्णय गरेका छैनन् ।
'मैले क्लबहरूको व्यवसाय कसरि चल्छ त्यो बताउने छैन । मैले खेलाडीको पक्षबाट हेर्ने हो,' टेलरले भनेका छन्, 'म दोहोर्याउन सक्छु कि खेलाडीहरु सामाजिक जिम्मेवारीमा सजग छन् । उनीहरु सम्झौता गर्न तयार छन् ।'
क्लबको प्रस्तावसँगै पीएफएले टिमका कप्तान, क्लब र प्रिमियर लिगसँग छलफल गरेको थियो ।
कोरोनाको संकटलाई मध्येनजर गर्दै इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले ३० प्रतिशत तलब कटौती गर्ने बताईसकेका छन् ।
स्पेन र जर्मनीका ठुला क्लबका खेलाडीले तलब कटौतीमा सहमति जनाईसकेका छन् ।