धरान । नेपाल पुलिस क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा आइतबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-१ गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
एक गोलले पछि परेको अवस्था उल्टाएर पुलिसले जित निकालेको हो । पुलिसको जितमा जुमानु राईले दुई गोल गरे । यस्तै सुमन सुवेदीले एक गोल गरे । काँकडभिट्टाका सञ्जय धिमालले एक गोल फर्काए ।
अब पुलिस सेमिफाइनलमा लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र वेष्ट बंगाल कोलकत्ताबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङदी क्लब र बेलबारी फुटबल क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् ।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।