काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
साविकको विजेता समेत रहेको मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा निशानले गोल गरेका थिए ।
जितसँगै मनाङले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गर्ने पक्का भएको छ । मनाङले १३ खेलमा २८ अंक जोडेको छ । र, दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी समेत गरेको छ ।
मनाङको दोस्रो हुने सम्भावना भने गणितीय मात्र रहेको छ । अन्तिम खेलमा मछिन्द्र आर्मीसँग ५ गोल अन्तरले पराजित भएमा मनाङ दोस्रो स्थानमा रहने छ ।
जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।
के भन्छन् प्रशिक्षक ?
मनाङका प्रशिक्षक तोपे फुजाले लिगमा खेलाडीले गरेको प्रदर्शनबाट खुसी देखिए ।
'खेलाडीले लिग भरी राम्रो गरे । यसबाट खुसी छु । केही अवसर गुमायौं । २-३ खेलमा गम्भीर नहुँदा नतिजा गयो । एन्फालाई सफलता पुर्वक सम्पन्न गरेकोमा धन्यवाद,' उनले भने ।
यस्तै फुजाले मनाङका स्ट्राइकर विमल राना राम्रो स्ट्राइकर रहेको बताए । उनले क्लबसँगको सम्झौता एक वर्षको लागि गरेको बताउँदै अब मनाङसँगै रहने बताए ।
जावलाखेलका प्रशिक्षक नरेश थापाले समग्रमा लिग राम्रो भएको बताए ।
'आज राम्रो नै भयो । जितेको भए पाँचौं हुन्थ्यो । जित्नको लागि खेलेका थियौं । अट्याकिङ खेल खेल्यौं तर सफल भएनौं,' उनले भने, 'लिग समग्रमा राम्रो भयो। सुरुवाती दिनमा राम्रो भयो । पछि केहि बिग्रियो ।'