काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका थिए ।
यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका फरवार्ड समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको 'ए' डिभिजन लिगमा ५० गोल पुरा गरेका छन् । 'ए' डिभिजन लिगमा ५० गोल पुरा गर्ने भरत सातौं खेलाडी हुन् । भरतले बिस २०६३ सालमा संकटा क्लबबाट शीर्ष डिभिजन लिगमा डेब्यु गोल गरेका थिए ।
यस अघि लिगमा बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ, सन्तोष साहुखल, गणेश लावती र अनिल गुरुङले ५० गोल गरिसकेका छन् । लिगमा १०० गोल पुरा गर्ने कीर्तिमान भने च्यासलका सन्तोष शाहुखलको नाममा रहेको छ ।
खेलको ५४ औं मिनेटमा विकास तामाङले गोल गर्दै आर्मीको अग्रता २-० को बनाए । उनले सन्तोष तामाङको पासलाई सदुपयोग गरे ।
त्यसपछि खेलको ७० औं मिनेटमा टेकले गोल गर्दै आर्मीलाई ३-० को जित दिलाए । उनले ब्रिगेडका किपर विशाल सुनारले पन्च गर्दै फ्यालेको रिबाउन्ड बलमा गोल गरेका थिए ।
जितसँगै आर्मीले उपाधि होड बलियो बनाएको छ । र, शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ ।
आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्रको २८ अंक रहेको छ । पराजित ब्रिगेड ८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
आर्मीको जितसँगै लिगको उपाधिको छिनोफानो अन्तिम खेलले तय हुने भएको छ । लिगको अन्तिम चरणको अन्तिम खेलमा आर्मी र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र मछिन्द्रबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ३ गते हुनेछ ।
आर्मीलाई उपाधि जित्न बराबरीले पुग्नेछ भने मछिन्द्रलाई स्पष्ट जितको आवश्यकता रहेको छ।
के भन्छन् प्रशिक्षक ?
ब्रिगेडलाई हराएपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले उपाधि जित्न एक कदम बाँकी रहेको बताए । यस्तै उनले अन्तिम खेलमा आफ्नो मजबुद टिम उतार्दै उपाधि जित्ने दाबी गरे ।
'सोचे जस्तो नतिजा आयो । अब एक कदम बाँकी छ । ब्रिगेडसँग पुरा सेट खेलाएनौं । अब अन्तिम खेलको लागि फुल सेट रहेको छ । अब बेन्च पनि बलियो भयो,' उनले भने, 'लिग जित्ने विश्वास छ । उत्कृष्ट टिम बन्दै उपाधि जित्छौं ।'
प्रशिक्षक न्यौपानेले मछिन्द्रसँग जित्नका लागि मैदान उत्रने समेत बताए ।
'बराबरी खेल्न भन्दा पनि मछिन्द्रविरुद्ध जित्नका लागि खेल्छौं । उनीहरुको विशाल राई र सोमिडे एडिलाजालाई रोक्न सके सहज हुन्छ,' उनले थपे ।
ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले उपाधिको बलियो दाबेदार टिमसँग खेलाडीले राम्रो खेलेको बताए ।
'उपाधि दौडको लागि बलियो टिम हो आर्मी । उनीहरुसँग हाम्रो दुई मुख्य खेलाडी दुई पहेलो कार्डको कारणले टिममा नहुँदा पनि कठिन भयो,' उनले भने ।
लिगमा ५० गोल पुरा गरेका आर्मीका कप्तान भरत खवासले अब लिगमा सन्तोष साहुखलको कीर्तिमानलाई भंग गर्ने लक्ष्य रहेको बताए ।
'लिगमा गोल गर्न एकदमै कठिन हुन्छ । जसोतसो ५० गोलको आँकडामा पुगेको छु,' सन्तोषले भने, 'सन्तोष दाइजस्तै १०० गोल गर्न छ । उहाँलाई भेट्न कोशिश गर्छु ।'
यस्तै भरतले आफ्नो गोल छोरिलाई समर्पित गरे ।
आर्मी प्लेईङ सेट -
नवयुग श्रेष्ठ, जितेन्द्र कार्की, दिपक गुरुङ,सुमन अर्याल,विकेश कुथु,भरत खवास, सन्तोष तामाङ,जर्ज प्रिन्स कार्की,विकास तामाङ,आशिष शाक्य, टेक बहादुर बुढाथोकी
ब्रिगेड प्लेईङ सेट -
अनिल गुरुङ, अजुदीन बुसारी,मनोज राई, विशाल सुनार, रोशन राना मगर,अन्जल महर्जन,सुलभ मास्के,विजय गुरुङ,रन्दिप पौडेल,शिशिर लेखि, सुबित कार्की