काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको दशौँ चरण सकिदा लिगको दोस्रो स्थानमा छ मछिन्द्र । यस्तै पुछारमा रहेको टिम हो सरस्वती युथ क्लब ।
मछिन्द्र पहिलो पटक लिग च्याम्पियनको होडमा छ । सरस्वती भने दोस्रो पटक घटुवाको संघारमा छ ।
लिगको ११ औं चरणको पहिलो दिन यीनै दुई क्लब एक आपसमा भिड्दैछन् । एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११:३० बजे सुरु हुनेछ । एक प्रकारले भन्दा बिहिबार एन्फा मैदानमा दुबै टोली दबाबमा हुनेछन् । उपाधि होडमा रहँन र शीर्ष स्थानमा कब्जा जमाउन मछिन्द्रलाई जितको विकल्प छैन । सरस्वतीलाई पनि रेलिगेशनबाट बच्न जितको बिकल्प छैन ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका विराज महर्जनको कप्तानीमा रहेको मछिन्द्र सरस्वतीविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा फर्कन चाहन्छ । सरस्वतीविरुद्ध जित दर्ता गरे मछिन्द्रले कम्तिमा दुई घण्टाको लागि शीर्ष स्थान पाउने छ ।
‘सरस्वती पनि राम्रो छ । अन्तिममा रह्यो भन्दैमा उसलाई सहज लिन्नौं । उपाधि जित्ने लक्ष्य हुँदा त्यसमै ध्यान केन्द्रित छ,’ सरस्वतीका खेलअघि कप्तान विराज भन्छन् ।
लिगको तलिकामा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको मछिन्द्रले गत सिजन लिगमा गरेको खराब प्रर्दशनका कारण सुरुवातमै १ अंक गुमाउन पुग्यो । जसको कारण मछिन्द्र शीर्ष स्थानको आर्मी भन्दा एक अंकले पछि रहेको छ ।
यस्तै मछिन्द्रलाई केहि खेलाडीको चोटले सताउन सक्नेछ । उसका कप्तान विराज महर्जन, उपकप्तान सुजल श्रेष्ठ र रेजिन सुब्बा पूर्ण रुपमा फिट छैनन् । तर उसका तीनै विदेशी खेलाडी भने मैदान उत्रने छन् ।
यता, सरस्वती पनि मछिन्द्रलाई पराजित गर्दै रेलिगेशन जोनबाट बच्ने दाउमा छ । लिगको दोस्रो जित निकाल्दै सरस्वती पुछारबाट दोस्रोमा रहेको एपीएफलाई दबाब दिने दाउमा छ ।
सरस्वती बलियो मछिन्द्रलाई उपाधि होडमा धक्का दिन चाहन्छ ।
‘अट्याकिङ खेल खेल्दै फाइट गर्छाै । हामी तयारी छौं । मछिन्द्रलाई सहजै खेल्न दिन्नौं,’ सरस्वतीका प्रशिक्षक प्रदिप नेपाल भन्छन् ।
मछिन्द्रविरुद्ध सरस्वतीले आफ्ना कप्तान दिपेश श्रेष्ठलाई गुमाउने छ । खेलमा मिलेमतो गरेको शंका पाएपछि उनि हाल अनुसन्धानको क्रममा रहेका छन् । बिहिबार सरस्वतीले दुई विदेशी खेलाउने छ भने अर्काे विदेशीको लागि अन्तिम तयारी गरिरहेको छ ।