काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (बिहिबार) दुई खेल हुदैछ ।
पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले सरस्वती फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।
दोस्रो स्थानको मछिन्द्रले २२ अंक जोडेको छ । पुछारको सरस्वतीको ४ अंक रहेको छ ।
रेलिगेशन क्षेत्रको सरस्वतीलाई हराएर मछिन्द्र कम्तिमा २ घण्टाका लागि शीर्ष स्थानमा उक्लन छ । सरस्वती अप्रत्यासित नतिजा निकाल्दै रेलिगेशनबाट माथि उक्लन चाहन्छ ।
उपाधि होडमा रहेको आर्मी विभागीय डर्बीमा जित निकाल्दै शीर्ष स्थान यथावत राख्न चाहन्छ । एपीएफ भने जित निकाल्दै रेलिगेशन क्षेत्रबाट आफुलाई माथि निकाल्न चाहन्छ ।
आर्मी २३ अंक सहित शीर्ष स्थानमा छ । ५ अंक जोडेको एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
मछिन्द्रविरुद्ध दबाबमा सरस्वती
सहिद स्मारक 'ए' डिभिजन लिगको दशौँ चरण सकिदा लिगको दोस्रो स्थानमा छ मछिन्द्र । यस्तै पुछारमा रहेको टिम हो सरस्वती युथ क्लब । मछिन्द्र पहिलो पटक लिग च्याम्पियनको होडमा छ । यता, सरस्वती भने दोस्रो पटक घटुवाको संघारमा रहेको छ ।
लिगको ११ औं चरणको पहिलो दिन यीनै दुई क्लब एक आपसमा भिड्दैछन् । एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११:३० बजे सुरु हुनेछ । एक प्रकारले भन्दा बिहिबार एन्फा मैदानमा दुबै टोली दबाबमा हुनेछन् । उपाधि होडमा रहँन र शीर्ष स्थानमा कब्जा जमाउन मछिन्द्रलाई जितको विकल्प छैन । सरस्वतीलाई पनि रेलिगेशनबाट बच्न जितको बिकल्प छैन ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका विराज महर्जनको कप्तानीमा रहेको मछिन्द्र सरस्वतीविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा फर्कन चाहन्छ । सरस्वतीविरुद्ध जित दर्ता गरे मछिन्द्रले कम्तिमा दुई घण्टाको लागि शीर्ष स्थान पाउने छ ।
‘सरस्वती पनि राम्रो छ । अन्तिममा रह्यो भन्दैमा उसलाई सहज लिन्नौं । उपाधि जित्ने लक्ष्य हुँदा त्यसमै ध्यान केन्द्रित छ,’ सरस्वतीका खेलअघि कप्तान विराज भन्छन् ।
लिगको तलिकामा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको मछिन्द्रले गत सिजन लिगमा गरेको खराब प्रर्दशनका कारण सुरुवातमै १ अंक गुमाउन पुग्यो । जसको कारण मछिन्द्र शीर्ष स्थानको आर्मी भन्दा एक अंकले पछि रहेको छ ।
यस्तै मछिन्द्रलाई केहि खेलाडीको चोटले सताउन सक्नेछ । उसका कप्तान विराज महर्जन, उपकप्तान सुजल श्रेष्ठ र रेजिन सुब्बा पूर्ण रुपमा फिट छैनन् । तर उसका तीनै विदेशी खेलाडी भने मैदान उत्रने छन् ।
यता, सरस्वती पनि मछिन्द्रलाई पराजित गर्दै रेलिगेशन जोनबाट बच्ने दाउमा छ । लिगको दोस्रो जित निकाल्दै सरस्वती पुछारबाट दोस्रोमा रहेको एपीएफलाई दबाब दिने दाउमा छ ।
सरस्वती बलियो मछिन्द्रलाई उपाधि होडमा धक्का दिन चाहन्छ ।
‘अट्याकिङ खेल खेल्दै फाइट गर्छाै । हामी तयारी छौं । मछिन्द्रलाई सहजै खेल्न दिन्नौं,’ सरस्वतीका प्रशिक्षक प्रदिप नेपाल भन्छन् ।
मछिन्द्रविरुद्ध सरस्वतीले आफ्ना कप्तान दिपेश श्रेष्ठलाई गुमाउने छ । खेलमा मिलेमतो गरेको शंका पाएपछि उनि हाल अनुसन्धानको क्रममा रहेका छन् । बिहिबार सरस्वतीले दुई विदेशी खेलाउने छ भने अर्काे विदेशीको लागि अन्तिम तयारी गरिरहेको छ ।
विभागीय डर्बीमा नवयुग बाहिर
अंक तालिकाको शीर्ष स्थानमा रहेको आर्मी र पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफ ११ औं चरणको खेलमा भिड्दैछन् । विभागीय डर्बी भिडन्त एन्फा कम्प्लेक्स सातदोबाटोमा अपरान्ह ३ बजे सुरु हुनेछ ।
विभागीय डर्बीमा एक प्रकारले प्रतिष्ठाको लडाई पनि हुनेछ । आर्मी जितसहित शीर्ष स्थानमा यथावत रहँन चाहन्छ भने एपीएफ रेलिगेशन क्षेत्रबाट टाढा रहँन चाहन्छ ।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको आर्मी एपीएफलाई पराजित गर्दै दोस्रो स्थानको मछिन्द्रमाथि दबाब कायम राख्न चाहन्छ । भरत खवासको कप्तानीमा रहेको आर्मी उपाधि होडमा आफुलाई बलियो बनाउन समेत चाहन्छ ।
‘एपीएफ रेलिगेशन क्षेत्र नजिकै देखिएको मात्रै हो । पछिल्लो समय टप गेम खेल्दै आईरहेको छ । उनिहरुको मनोबल हाई भएको हुँदा सहज लिनु हुँदैन,’ एपीएफसँगको खेलअघि आर्मीका सहायक प्रशिक्षक चुन बहादुर थापा भन्छन् ।
एपीएफविरुद्ध बिहिबार आर्मीले आफ्ना महत्वपूर्ण स्ट्राइकर नवयुग श्रेष्ठलाई गुमाउने छ । चालु लिगमा ६ गोल गरिसकेका नवयुग दोस्रो पहेलो कार्डका कारण एपीएफविरुद्ध बाहिर रहने भएका हुन् ।
यता, एपीएफ पनि आर्मीलाई पराजित गर्दै रेलिगेशन क्षेत्र नजिकबाट टाढिन चाहन्छ । ५ अंक सहित पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफ पुछारमा रहेको सरस्वतीसँग ४ अंकको दुरी बनाउने दाउमा छ ।
‘आर्मी कठिन टिम पनि हो र विभागीय टिम पनि हो । हामी स्पिड गेम खेल्दै नतिजा आफ्नो पक्षमा पार्न चाहन्छौं,’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् ।
आर्मीविरुद्ध एपीएफका मिडफिल्डर प्रदिप लामाले खेल गुमाउने छन् । प्रदिप दोस्रो पहेलो कार्डका कारण टिम बाहिर रहने छन् । तर, लिगमा ५ गोल गरिसकेका एपीएफका आशिष लामा आर्मीविरुद्ध मुख्य हतियार हुनेछन् ।