काठमाडौं । कुनै समय संजिब बुढाथोकी थ्री स्टारका राम्रा खेलाडी थिए । फुटबल करियरमा संजिबले थ्री स्टारलाई लिग त जिताउन सकेनन् । तर नकआउट प्रतियोगितामा धेरै उपाधि दिलाए ।
थ्री स्टारका पूर्व खेलाडी संजिब बिहीबार भने आफ्नै पूर्व क्लबविरुद्ध उत्रदैछन्, तर फरक भूमिकामा ।
लिगको ५१ औं खेलमा ललितपुरको थ्री स्टार र हिमालयन शेर्पा क्लब आमने सामने हुँदैछन् । दशरथ रंगशालामा हुने खेल १२ बजे सुरु हुनेछ ।
फुटबल खेलाडीको रुपमा अधिकांश समय थ्री स्टारमा बिताएका संजिबले प्रशिक्षकको भुमिका भने हिमालयन शेर्पाबाट सुरुवात गरेका छन् । एएफसी बी लाईसेन्स गरेका उनले पहिलो पटक ए डिभिजन क्लब हेरेका हुन् ।
लिगमा शेर्पाले एक मात्रै जित हात पारेको छ । राष्ट्रिय टिमको खेलाडीको बाहुल्यता रहेको मछिन्द्रलाई पछिल्लो खेलमा हार चखाउँदै शेर्पाले लिगमा पहिलो जित दर्ता गरेको हो ।
मछिन्द्रलाई हराएर पछि शेर्पा निकै उत्साहीत समेत छ । प्रशिक्षक संजिब आफ्नो पूर्व क्लबविरुद्ध पनि सोहि नतिजा निकाल्न चाहन्छन् ।
‘खेलाडी हुँदा थ्री स्टारमा राम्रो गरियो । अहिले शेर्पामा प्रशिक्षक छु । यता राम्रो गर्न लागेको छु । त्यसैले थ्री स्टारविरुद्ध पनि जितको विकल्प छैन ।’ उनी भन्छन् ।
सात खेलबाट शेर्पाले १ जित ४ हार र ३ बराबरीको नतिजा सहित ७ अंक जोडेको छ । शेर्पा तालिकाको ११ औं स्थानमा छ ।
यता, उपाधि होडमा रहेको थ्री स्टार पनि शेर्पालाई पराजित गर्दै उपाधि होडमै रहन चाहन्छ । अन्तिम खेलमा महत्वपूर्ण तीन खेलाडी थप्दा थ्री स्टारले डिफेन्डिङ च्याम्पियन मनाङसँग २–२ को बराबरी खेलेको थियो ।
तीन राष्ट्रिय टिमका खेलाडीको साथ पाएका प्रशिक्षक मेघराज केसी पछिल्लो खेलमा उत्कृष्ट नतिजा ल्याएर मनोबल उच्च रहेको शेर्पालाई कमजोर नमान्ने बताउँछन् ।
‘पछिल्लो खेलमा शेर्पाले राम्रो खेल्यो । मछिन्द्रलाई हरायो भने मनाङलाई बराबरीमा रोकेको छ । उसलाई कमजोर नसोची राम्रो खेल खेलेर तीन अंक हासिल गर्छाै ।’ उनी भन्छन् ।
थ्री स्टार ३ जित, २ बराबरी र दुई हार सहित ११ अंक जोडेर तालिकाको पाचौं स्थानमा छ ।
तेस्रो खेलबाट मुख्य स्ट्राइकर विश्वास श्रेष्ठ गुमाएको शेर्पाले थ्रीस्टारविरुद्ध २ विदेशी खेलाडी खेलाउने छ । यता, थ्री स्टार भने आफ्ना चारवटै विदेशी खेलाडीलाई मैदानमा प्रयोग गर्न सक्नेछ ।
बिहीबारको जितले थ्री स्टारलाई तेस्रो स्थान र शेर्पालाई सातौं स्थानमा उक्लने मौका छ ।