एजेन्सी । फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा आफुले सुधार गर्ने बाचा गरेका छन् । अल्बानियाविरुद्वको खेलमा पेनाल्टीमा असफल भएका ग्रिजम्यानले असफलताको दोष श्रीमतीमाथि लगाएका छन् ।
पेनाल्टीको बिषयमा ठट्टा गर्दै ग्रिजम्यानले श्रीमती मैदानमा अनुपस्थित रहदाँ आफुले पेनाल्टी मिस गरेको बताए ।
फ्रान्सेले युरो छनोटमा शनिबार राति अल्बानियालाई हराएको थियो । किंग्सले कोमनले दुई तथा ओलिभर जिराउड र जोनाथन इकोनीले समान एक एक गोल गरेपछि विश्व विजेता फ्रान्सले अल्बानियालाई ४–१ ले हराएको हो ।
पहिलो हाफको ३७ औ मिनेटमा ग्रिजम्यानले पेनाल्टी खेर फालेका थिए ।
तर उनकै पासमा कोम्यानले गोल गर्दै दोस्रो हाफमा फ्रान्सलाई ३–० ले अघि बढाएका थिए ।
पेनाल्टीको बिषयमा सोध्दा ग्रिजम्यानले भने, ‘के भयो, मलाई केही थाहा छैन ।’
‘जसरी मैले अगाडीनै भने, सायद मेरो श्रीमतीले खेल नहेर्दा यो भएको हुनपर्छ ।’ उनले थपे, ‘म राम्रो अवस्थामा थिए । तर हरेक पटक गोल नहुन सक्छ । यो निकै खराब भयो । मलाई यसमा काम गर्न पर्नेछ ।’
‘हामी सही बाटोमा छौ । समुह चरणमा हाम्रो अवस्थाले समेत यसलाई देखाउछ । हामीले राम्रो खेल खेल्यौ ।’ ग्रिजम्यानले भने ।
राष्ट्रिय गान ढिलो बज्दा खेल केही समय ढिला सुरु भएको थियो ।
‘हामी सबै अचम्मित भयौ । केही आश्चार्यमा पर्यौ ।’ राष्ट्रिय गानमा भएको गल्तीबारे ग्रिजम्यानले थपे, ‘यो ठुलो गल्ती हुन गयो । अर्को पटक यो दोहरिन हुदैन ।’
फ्रान्स चोटका कारण मुख्य खेलाडी केलियन एम्बाप्पे, पाउल पोग्बा र उसमान डेम्बेलेबिना मैदान उत्रिएको थियो ।
समुह एचको शीर्ष स्थानको फ्रान्सले ५ खेलबाट १२ अंक जोड्यो । अल्बानिया ६ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो ।