काठमाडौं । नेपालमा आयोजना हुने १२ औं संस्करणको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता साउन पहिलो साता हुने भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता साउन २ देखि ५ गतेसम्म आयोजना हुने जनाएको छ । संघले यसअघि प्रतियोगिता असार ६ र ७ गते आयोजना हुने जनाएको थियो । तर, संघले प्रतियोगिता झन्डै एक महिना पछि सारेको छ ।
प्रज्ञा भवन कमलादीमा हुने प्रतियोगितामा नेपालसहित सार्क राष्ट्रहरु भारत, पाकिस्तान, भुटान, अफगानिस्तान,श्रीलंका, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको शारीरिक सुगठन तर्फ ५५,६०,६५,७०,७५,८०,८५,९० र ९० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै जुनियर पुरुष शारीरिक सुगठन, पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स,महिला एथलेटिक्स फिजिक्स र महिला मोडल फिजिक्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब १३० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।