एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब फर्किएका छन् । गत सिजन बार्सिलोनामा आबद्द भएका पाउलिन्हो चाइनिज सुपर लिग क्लब गोन्जाउ एभरगाड फर्किएका हुन् ।
बार्सिलोनामा एक सिजन बिताएपछि पाउलिन्हो पुरानै क्लब फर्किएका हुन् । २९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो । तर, पाउलिन्हो एक सिजन मात्र बार्सिलोनामा बिताएका छन् ।
बार्सिलोनामा पाउलिन्होले ला लिगा र कोपा डेल रे उपाधि जितेका थिए । नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेचेलगत्तै बार्सिलोनाले पाउलिन्हो भित्राएका थिए । गत सिजन पाउलिन्होले ४९ खेल खेल्दै ९ गोल गरेका थिए ।
पाउलिन्हो रुस विश्वकपको ब्राजिलियन टोलीमा समेत रहेका थिए । रुस विश्वकपमा पाउलिन्होले एक गोल समेत गरेका थिए । विश्वकप लगत्तै पाउलिन्हो पुरानो क्लब फर्किएका हुन् ।
बार्सिलोना आउनु अघि ३ बर्ष गोन्जाउमा रहेका पाउलिन्होले ९५ खेल खेल्दै २८ गोल गरेका थिए । पाउलिन्हो इन्ग्लिश क्लब टोटनह्यामबाट सन् २०१५ मा चिनियाँ क्लब पुगेका थिए ।